दफा ४७
चालकको लागि अयोग्यता
देहायका व्यक्तिहरू चालक अनुमतिपत्र प्राप्त गर्न अयोग्य मानिने छन्ः–
(क) ठूलो सवारीको निमित्त २१ वर्ष उमेर नपुगेको व्यक्ति ।
(ख) मझौला र सानो सवारीको निमित्त अठार वर्ष उमेर नपुगेको व्यक्ति ।
तर मोटरसाइकल तथा त्यस्तै अन्य सानो दुईपाङ्ग्रे सवारीको निमित्त सोह्र वर्ष उमेर पुगेको व्यक्तिले चालक अनुमतिपत्र प्राप्त गर्न सक्नेछ ।
(ग) छारे रोग भएको वा बौलाएको वा एकाएक रिङ्गटा लाग्ने वा मूर्छा हुने किसिमको रोग भएको व्यक्ति ।
(घ) आँखाको देख्ने शक्ति कमजोर भई चश्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको व्यक्ति ।
(ङ) साधारण ध्वनि सङ्केत, आवाज सुन्न नसक्ने गरी बहिरो भएको व्यक्ति ।
तर त्यस्ता व्यक्तिको चालक क्षमता सम्बन्धमा परीषण गराई तोकिएको बमोजिमको मापदण्ड पूरा भएका सडकमा मात्र सवारी चलाउन पाउने गरी निजलाई सवारी चालक अनुमतिपत्र दिन सकिनेछ ।
(च) रातो, हरियो, पहेंलो इत्यादि रङहरू तुरून्त छुट्याउन नसक्ने दृष्टिदोष भएको व्यक्ति ।
(छ) रतन्धो भएको व्यक्ति, वा
(ज) हात खुट्टा शक्तिहीन भै काम दिन नसक्ने भएको व्यक्ति ।
तर अपाङ्गको निमित्त खास किसिमले बनेको सवारीको निमित्त यो खण्डको बन्देज लागू हुने छैन ।